काठमाडौं, १४ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको नयाँ बिधेयक पारित भए भारतीय नागरिकलाई समेत नेपालको स्थानीय र संसदीय निर्वाचनमा उम्मेदवार बन्न बाटो खुल्ने एक भारतीय संचारमाध्यमले जनाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेलगायतका कतिपय सरोकारवालाहरुसँग समेत परामर्श नगरी अघि बढाइएको संशोधन बिधेयक सार्बजनिक नहुँदै भारतीय संचारमाध्यममा बिधेयकका प्रावधानबारे खुसी ब्यक्त गर्दै समाचार प्रकाशित भएको हो ।
भारतीय संचारमाध्यम ‘न्युज १८ डटकम’ ले ‘इन अ फष्ट, नेपाल अलाउस् इण्डियन्स् टु कन्टेष्ट लोकल बडी पोल्स’ शीर्षकमा समाचार लेख्दै जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भारतीय नागरिकले निर्वाचन लड्न पाउने  जनाएको हो । त्यसको श्रेय मधेशी मोर्चा र प्रधानमन्त्री दाहाललाई दिइएको छ ।

मधेशी मोर्चाको लामो समयदेखिको मागलाई दाहाल नेतृत्वको कांग्रेस–माओवादी केन्द्रको सरकारले सम्बोधन गर्दै अघि बढाएको, नयाँ संशोधनले सीमा पारीका भारतीय नागरिकलाई यो अधिकार दिएको भन्दै खुसी व्यक्त गरिएको हो । समाचारमा उल्लेख छ, ‘उत्तर प्रदेश र बिहारको सीमा क्षेत्रमा बसेका भारतीय नागरिकहरुलाई नेपालमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अनुमति दिइने भएको छ ।’

लखनउको डेटलाईनमा लेखिएको समाचारमा मधेशी मोर्चाको सात महिना लामो आन्दोलनपछि सीमा क्षेत्रमा बस्ने भारतीय नागरिकले नेपालको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुन लागेको उल्लेख छ । ‘यो संशोधनले भारतीय नागरिकलाई समानुपातिक आधारमा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अधिकार समेत दिएको छ’ क्वाजी फराज अहमदले लेखेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको यो मागलाई मन्त्रिपरिषद्बाट पारित गरेर निर्वाचन आयोगसँग समेत छलफल गरी अघि बढाएको र लगत्तै मधेशी मोर्चासँग सहमति भएको त्यहाँ उल्लेख छ । नेपाल सरकारको यो निर्णयले सीमा क्षेत्रमा बस्ने २५ प्रतिशत जनसंख्या लाभान्वित हुने समेत समाचारमा जनाइएको छ । मिथिलाका रुपमा चिनिने बिहारको ठूलो क्षेत्र नेपालसम्म फैलिएको र यो क्षेत्रले नेपालको संस्कृति र परम्परा बढी प्रभाबित पारेको भन्दै अव राजनीतिमा समेत त्यो बिस्तार भएको बताईएको छ ।

श्रोतका अनुसार, मधेशी मोर्चाकै नेताहरुले नेपालमा आफूले सीमा पारी भारतीय नागरिकलाई समेत निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने संशोधन गराउन सफल भएको सन्देश दिएका छन् । मधेशी मोर्चा वास्तविक रुपमा भारतीयलाई नेपालको निर्वाचनमा सहभागि गराउने सोचमा रहेको समेत यो रिपोर्टमा आएको छ ।